दाङमा एमाले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा गम्भीर विवाद
दाङमा नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा गम्भीर विवाद उठेको छ ।महाधिवेशन प्रतिनिधि उम्मेदवार सुरेश गौतमले सार्वजनिक विज्ञप्ति जारी गर्दै जिल्लामा गरिएको प्रतिनिधि चयनलाई विधि, विधान र केन्द्रीय निर्देशनविपरीत भएको भन्दै खारेज गर्न माग गरेका छन् ।
गौतमका अनुसार दाङमा प्रतिनिधि छनोट मनपरी ढंगले गरिएको छ । निर्वाचन समिति गठन, मतदाता नामावली प्रकाशन र अन्य अनिवार्य प्रक्रियाहरू बेवास्ता गरेर एकलौटी शैलीमा नाम टुङ्ग्याइएको आरोप छ । उनले यसलाई पार्टीको लोकतान्त्रिक अभ्यास माथिको प्रत्यक्ष प्रहार भनेका छन्।
विवादको मुख्य केन्द्रमा महासचिव शंकर पोखरेलको नामसमेत जोडिएको छ । जिल्ला नेतृत्वले प्रतिनिधि छनोट महासचिवको निर्देशनमा गरिएको दाबी गरिरहेको भन्दै गौतमले यो सत्य भए विधानकै धज्जी उडाइने गम्भीर विषय हुने बताएका छन् । महासचिवको नाम दुरुपयोग गरेर स्वेच्छाचारिता वैध ठहर्याउने प्रयास अस्वीकार्य भएको उनको भनाइ छ ।