प्रधानमन्त्री कार्की र कांग्रेस महामन्त्रीद्वयबीच निर्वाचन तयारीबारे छलफल
१५ कात्तिक, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले शनिबार नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग आगामी निर्वाचनका तयारीबारे छलफल गरेकी छिन्।
दिउँसो ४ बजेबाट बालुवाटारमा सुरु भएको छलफल करिब एक घण्टा चलेको थियो। प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार भेटमा सरकार र राजनीतिक दलहरूले हालसम्म गरेका तयारी, आउँदा दिनमा गर्नुपर्ने काम, तथा निर्वाचनलाई सर्वदलीय सहमतिको वातावरणमा कसरी अघि बढाउने भन्ने विषयमा विस्तृत कुराकानी भएको हो।
प्रधानमन्त्री कार्कीले निर्वाचनमा सबै राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको बताउँदै निर्वाचन नै राजनीतिक निकासको मूल उपाय भएको धारणा राखिन्।
छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाली कांग्रेस निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको र पार्टीले चाँडै औपचारिक निर्णय गर्ने बताएका थिए। उनीहरूले भने, “औपचारिक निर्णय गर्न बाँकी भए तापनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ।”
त्यस क्रममा उनीहरूले नेकपा एमाले पनि देशको निकासका लागि निर्वाचनबाट पछि हट्न नसक्ने विश्वास व्यक्त गर्दै, सरकारले त्यस दिशामा थप पहल गर्नुपर्ने सुझाव दिए।
महामन्त्रीद्वयले जेनजी आन्दोलनका युवा, अन्य दल र नागरिक समाजसँग संवाद गरेर निर्वाचनअघि सम्बोधन गर्न सकिने माग र निर्वाचनपछिको संसदले प्राथमिकताका रूपमा लैजानुपर्ने विषयमा सहमति जुटाउनुपर्ने धारणा पनि व्यक्त गरे।
प्रधानमन्त्री कार्कीले एमालेका नेताहरूसँग पनि छलफल गर्न चाहेको बताउँदै, आज पार्टी बैठक भएकाले अर्को दिन भेट्ने सहमति भएको उनको सचिवालयले जनाएको छ।
यसअघि पनि प्रधानमन्त्री कार्कीले फरक–फरक राजनीतिक दलका शीर्ष नेताहरूसँग चुनाव तयारी र राष्ट्रिय सहमतिको आवश्यकता विषयमा छलफल गर्दै आएकी छन्।