सवारी दुर्घटनामा परी पत्रकार आचार्यको मृत्यु
रेडियो तिला आवाजका स्टेसन म्यानेजर पत्रकार वीरेन्द्र आचार्यको दुर्घटनामा मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका- २, कार्यालय अगाडि मोटरसाइकलले स्कुटीलाई ठक्कर दिँदा आचार्यको मृत्यु भएको हो।
गम्भीर घाइते भएका आचार्यको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो। मूलपानीबाट भुरेलीतर्फ जाँदै गर्दा यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले आचार्यले चलाएको लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो।
गम्भीर घाइते आचार्यको उपचारको क्रममा मृत्यु भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ। मोटरसाइकल चालक २३ वर्षीय शाही पनि घाइते छन्। उनको टाउको र शरीरको विभिन्न भागमा चोट रहेको प्रहरीले जनाएको छ। कालिकोटको शुभकालिका-६ हाउडी घर भएका ३४ वर्षीय आचार्य कालिकोटको प्रेस सेन्टर कालिकोटका अध्यक्ष पनि थिए।