फरार कैदी र हतियार फिर्ता ल्याउन सरकारद्वारा विशेष अपरेशन तयारी
काठमाडौं, २२ कात्तिक — गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकार विशेष अपरेशन सञ्चालन गर्न लागेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस अभियानमा नागरिक तहबाट पनि सहयोग आवश्यक रहेको बताए। उनले सुशासन दिन नसके देश पुनः द्वन्द्वतर्फ जान सक्ने चेतावनी पनि दिए।
उनका अनुसार जेनजी आन्दोलनका क्रममा लुटिएका ७१० वटा हतियार फिर्ता भइसकेका छन् भने केही डढेका छन्। तर अझै केही हतियार हराइरहेका छन्।
फरार कैदीबन्दीबारे उनले जानकारी दिँदै भने, “आन्दोलनका क्रममा १४ हजार ५४९ जना फरार भएका मध्ये ९ हजार ५२१ जना फिर्ता आएका छन्। अझै पाँच हजार १०५ जना बाहिर छन्।”
मन्त्री अर्यालले भने, “हतियार र कैदीहरूलाई फिर्ता गर्न पटक–पटक सूचना जारी गरेका छौं। अब बाँकीलाई फिर्ता ल्याउन विशेष अपरेशन सञ्चालन गर्छौं। यसमा नागरिक तहबाट पनि सहकार्य चाहिन्छ।”
उनले कानूनी राज्यको जगेर्ना गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै, सरकार र निजी क्षेत्र एक–अर्काका परिपूरक रहेको बताए।