जोमसोम–कागबेनी सडक सञ्चालन, छुसाङ सडक खुलाउने प्रयास जारी
१५ कात्तिक, मुस्ताङ । निरन्तरको वर्षाले शुक्रबार बिहानदेखि अवरुद्ध भएको जोमसोम–कागबेनी सडक मर्मतपछि पुनः सञ्चालनमा आएको छ। विभिन्न स्थानमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा मर्मतकार्य सम्पन्न भएपछि केही समयअघिदेखि सडकमा सवारीसाधन सञ्चालनमा आएका छन्। सडक खुलेसँगै जोमसोमबाट कागबेनी र मुक्तिनाथसम्मको यात्रा सहज भएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार कागबेनी–छुसाङ खण्डमा पनि सडक खुलाउने प्रयास जारी छ। उनले पहिरो पन्छाउन आवश्यक उपकरण र जनशक्ति त्यस क्षेत्रमा पठाइसकिएको जानकारी दिए।