सुदूरपश्चिममा ४ महिनामा सवारी दुर्घटनाबाट ६२ जनाको मृत्यु, ७९५ घाइते
२७ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्म भएका सवारी दुर्घटनामा ६२ जनाले ज्यान गुमाएका छन्। प्रदेशभर भएका विभिन्न दुर्घटनामा ७९५ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। तीमध्ये ४३० जना गम्भीर घाइते छन्।
ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार चार महिनामा साना–ठूला गरी ५७९ सवारीसाधन दुर्घटनामा परेका छन्। मृत्यु हुनेमध्ये ४३ पुरुष, १६ महिला र ३ बालबालिका छन्।
गम्भीर घाइते ४३० मध्ये २७७ पुरुष, ९६ महिला, ३३ बालक र २४ बालिका छन्। सामान्य घाइतेतर्फ पनि पुरुषकै संख्या बढी रहेको छ—२५० पुरुष, ७१ महिला, २७ बालक र १७ बालिका।
मोटरसाइकल दुर्घटना सबैभन्दा धेरै
चार महिनाको अवधिमा मोटरसाइकल दुर्घटनाको संख्या उच्च देखिएको छ। ५७९ सवारी दुर्घटनामध्ये ३३७ मोटरसाइकल दुर्घटना छन्। त्यसबाहेक ६६ जीप/कार, ४७ अटो–टेम्पो, २१ बस, १९ ट्र्याक्टर, १३ माइक्रो तथा ९९ अन्य सवारीसाधन दुर्घटनामा परेका छन्।
महिनावार दुर्घटना तथ्यांक हेर्दा साउनमा १७५, असोजमा १५४, भदौमा १३८ र कात्तिकमा ११२ सवारी दुर्घटना दर्ता भएका छन्।
डीएसपी जोराका अनुसार ९० प्रतिशत दुर्घटना चालकको लापरवाही का कारण हुने गरेको छ। उनका अनुसार तराई क्षेत्रमा छाडा चौपाया र पहाडी क्षेत्रमा कच्ची सडक पनि दुर्घटनाको प्रमुख कारण बनेका छन्।