एमालेको निर्णय : मंसिर ६ गते काठमाडौंमा ठूलो जनसभा, देशभर चरणबद्ध कार्यक्रम
१५ कात्तिक, काठमाडौं — नेकपा (एमाले) ले मंसिर ६ गते काठमाडौंमा विशाल जनसभा गर्ने भएको छ। शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला हुँदै केन्द्रसम्मका जनपरिचालन कार्यक्रम तय गरेको हो।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, यही कात्तिक २२ गते देशभरका सबै वडामा जनभेला आयोजना गरिनेछ। त्यसपछि कात्तिक २५ गते देशभरका स्थानीय तह (पालिकाहरू) मा प्रदर्शन हुने र कात्तिक २९ गते जिल्लास्तरीय जनसभा हुने निर्णय गरिएको छ।
ज्ञवालीले जनपरिचालन र पार्टी सुदृढीकरण अभियानअन्तर्गत यी कार्यक्रम तय गरिएको बताए।
बैठकले मंसिर ६ गते काठमाडौंमा हुने जनसभालाई राष्ट्रिय स्तरको भव्य प्रदर्शनका रूपमा आयोजना गर्ने निर्णय गरेको छ।