पूर्वमहान्यायाधिवक्ता संग्रौला द्वारा हिरासतमा रहेका दुर्गा प्रसाईँसँग भेट
पूर्वमहान्यायाधिवक्ता तथा काठमाडौँ स्कुल अफ ल (केएसएल)का संस्थापक युवाराज संग्रौलाले हिरासतमा रहेका दुर्गा प्रसाईँलाई भेट गरेका छन्। शनिबार साँझ भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पुगेर संग्रौलाले नातेदारको हैसियतमा प्रसाईँसँग भेट गरेको प्रहरी स्रोतले जनाएको छ।
त्यसै दिन प्रसाईँको समूह र सरकारबीच भएको १० बुँदे सहमतिपछि आन्दोलन तथा बन्दका कार्यक्रम फिर्ता लिइएको थियो।
प्रहरीका अनुसार आज प्रसाईँलाई बन्दी प्रत्यक्षीकरण रिटका आधारमा सर्वोच्च अदालतमा उपस्थित गराइनेछ। काठमाडौँका एसएसपी रमेश थापाका अनुसार सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले उनलाई दोस्रोपटक ५ दिनको म्याद लिएर थुनामा राखेको छ। प्रसाईँ मंसिर २ गते बिहान पक्राउ परेका हुन्।