रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा आज सुनुवाइ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको बुटवल उच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
यसअघि कात्तिक २० गतेको इजलासले ‘सुरू मिसिल’ मगाउने आदेश दिएको थियो । गत बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सो आदेश दिएको थियो । मिसिल प्राप्त भएसँगै आजका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।
कात्तिक १३ गते तोकिएको अघिल्लो पेशी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो । यसअघि लामिछानेको मुद्दामा न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीका मुद्दा एकै प्रकृतिका भएको भन्दै एकैसाथ राख्ने आदेश गरेको थियो
लामिछानेले बिगो बमोजिमको रकम बुझाई थुनामै रहेर मुद्दा लड्न माग गरेका थिए । त्यसअनुसार उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो । यसअघि उच्च अदालत बुटवलले नै लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश पनि दिएको थियो ।
‘जेन-जी’ प्रदर्शनका क्रममा उच्च अदालत बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दा फाइल सुरक्षित रहेको अदालतले जनाएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।
जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते लामिछानेको रिहा माग निवेदन अस्वीकार गरेको थियो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ ।
लामिछानेले उक्त रकमको चार भागमध्ये आफ्नो एक भागबराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो दाखिला गरी बैंक जमानत पेस गरेका थिए । जोशीले पनि सोही बराबरको जमानत पेस गरेका थिए । तर दुवैको भागमा ठ्याक्कै कति बिगो पर्ने भन्ने यकिन नभएकाले अदालतले रिहा गर्न अस्वीकार गरेको थियो ।
हाल दुवै पुर्पक्षका लागि थुनामा छन् । रवि लामिछानेलाई भैरहवाबाट ललितपुरको नख्खु कारागारमा सरुवा गरिएको छ भने छविलाल जोशी भैरहवा कारागारमै रहेका छन् ।