विकास खर्च कम हुनुको मुख्य कारण बजेट रोक्का: मन्त्री घिसिङ
काठमाडौं, २४ नोभेम्बर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च कम देखिनुको मुख्य कारण सरकारी बजेट रोक्का भएको बताएका छन्।
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्री घिसिङले तीन मन्त्रालयअन्तर्गत मात्र रु एक खर्ब ९५ अर्ब बराबरको बजेट रोक्का हुँदा अधिकांश काम प्रभावित भएको स्पष्ट पारे। उनले सहरी विकास मन्त्रालयमा मात्र करिब रु ६१ अर्ब बजेट रोक्का रहेको उल्लेख गर्दै प्रगति कम देखिएको बताए।
मन्त्री घिसिङले भने, “रोक्का भएको बजेट घटाएर हेर्ने हो भने प्रगति प्रतिशत २० प्रतिशतभन्दा माथि पुग्छ। अहिले देखिएको कम खर्च वास्तविक कमजोरी होइन, रोकिएको बजेटकै प्रभाव हो। पहिलो त्रैमासिकमा प्रगति सधैँ कम हुन्छ। यसपालि जेनजी आन्दोलनका कारण पनि धेरै प्रोजेक्टमा काम प्रभावित भएको छ।”
उनले बजेट रोक्कापछि अर्को ठूलो अवरोध जेनजी आन्दोलन र विभिन्न परियोजनास्थलमा काम बन्द हुनु रहेको बताए। साथै, काम नगर्ने निर्माण व्यवसायीलाई कडाइका साथ कारबाही थालिएको पनि उनले जानकारी दिएका छन्।