गृहमन्त्री अर्याल: सुशासनलाई उच्च प्राथमिकतामा राख्दै काम गर्दैछौं
काठमाडौं, २७ कात्तिक — गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सुशासनको उच्च प्राथमिकता दिएर काम गर्दै आएको बताएका छन्। बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आयोजित छलफलमा उनले सुशासनको अभावले हिंसा र विद्रोह निम्तिन सक्ने भए पनि सरकारले स्थिति सामान्यीकरणमा सफल भएको जानकारी गराए।
अर्यालले भने, “जेनजी आन्दोलनपछि राजनीतिक हिंसा रोक्न डिटेक्ट र प्रिभेन्ट गर्ने काम गरिएको छ। सुशासन नदिँदा स्थिति भड्कने र शान्ति सुरक्षा समेत प्रभावित हुने देखिएको छ। यसै कारण सरकार सुशासनका मामिलामा अत्यन्तै सचेत छ र सम्बोधन गर्छ।”
उनी भदौ २३ र २४ का घटनामा उच्चस्तरीय आयोगले अध्ययन गर्ने र राज्यका अन्य संयन्त्रले पनि आवश्यक कदम चाल्ने जानकारी दिए। गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा बगेको रगतलाई सुशासन र कानुनी राज्यको लागि महत्वपूर्ण रहेको उल्लेख गरे।