एमालेको एघारौं महाधिवेशन अब काठमाडौंमा हुने
१५ कात्तिक, काठमाडौं — नेकपा (एमाले) ले आफ्नो एघारौं महाधिवेशनको स्थल परिवर्तन गरेको छ। यसअघि पोखरामा गर्ने भनिएको महाधिवेशन अब काठमाडौंमा हुने भएको हो।
शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकले मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, दशौं केन्द्रीय कमिटी बैठकले तय गरेको मिति यथावत् राख्दै महाधिवेशन स्थल मात्र परिवर्तन गरिएको हो।
ज्ञवालीले भने, “पार्टीको एघारौं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुनेछ, तर अब पोखराको सट्टा काठमाडौंमै आयोजना गरिनेछ।”
पार्टीले तयारीका सबै प्रक्रिया काठमाडौं केन्द्रित गर्दै महाधिवेशनको तयारी तीव्र पारेको जनाएको छ।