आठ कम्युनिष्ट दल एकीकृत हुँदै, ‘तारा’ रहनेछ साझा चुनाव चिन्ह
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ दलका शीर्ष नेताहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार, एकीकृत दलको चुनाव चिन्ह ‘तारा’ रहनेछ।
सहमति पत्रमा हस्ताक्षर गर्ने नेताहरूमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपाका महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंह रहेका छन्।
सहमति अनुसार, एकता प्रक्रिया औपचारिक रुपमा टुंग्याउन कात्तिक १९ गते एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ। साथै, आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजन गर्ने तयारी गरिएको छ।
यसअघि, नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो।
दलहरूका नेताहरूले संयुक्त विज्ञप्तिमार्फत यो एकता देशमा स्थायित्व, समाजवाद उन्मुख शासन र कम्युनिष्ट आन्दोलनको पुनर्जीवनका लागि ऐतिहासिक कदम भएको बताएका छन्।