काठमाडौँमा मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
काठमाडौँ, कात्तिक १५ – काठमाडौँबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिका–४ स्थित हिमाल डेन्टल हस्पिटल अगाडि बाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका व्यक्तिहरूमा मकवानपुरका ३२ वर्षीय सरोज लामा र दाङका १९ वर्षीय हरि मगर रहेका छन्। दुवैजना हाल काठमाडौँको कपन क्षेत्रमा बस्दै आएका थिए।
ट्राफिक प्रहरीले बा ६६ प ५६८३ नम्बरको चोरी भएको मोटरसाइकल प्रयोग गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। सो मोटरसाइकल अविनाश पुजारीको रहेको प्रहरीले जनाएको छ। पुजारीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११, लसुनटारबाट मोटरसाइकल हराएको भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए।
उनीहरूको साथबाट मोटरसाइकल बरामद गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।