गुल्मीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
गुल्मी, २६ कात्तिक । गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति बिपीचोकबाट पुर्कोटदहतर्फ जाँदै गरेको लु ३ त ७७३८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा सोही गाउँका २४ वर्षीय अनिल कुँवर गम्भीर घाइते भई उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक २२ वर्षीय सुशील कुँवर र सवार अर्का २२ वर्षीय आशिष कुँवरलाई इलाका प्रहरी कार्यालय पुर्कोटदहले नियन्त्रणमा लिएको छ ।
मृतकको शव जिल्ला अस्पताल तम्घासमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पुर्कोटदहले जनाएको छ ।