चक्रवात ‘मोन्था’को प्रभाव कम, देशभर आंशिकदेखि पूर्ण बदली मौसम
काठमाडौं, कात्तिक १५ – बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तीसगढ आसपासमा न्यूनचापीय क्षेत्रको रूपमा रहँदा नेपालमा परेको प्रभाव गएरातिदेखि क्रमशः घट्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ, जसका कारण देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली देखिएको छ।
हाल कोशी प्रदेशमा पूर्ण बदली रहेको छ भने बाँकी भूभागमा सामान्यदेखि अधिकांश बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली हुने अनुमान गरिएको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा, साथै बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको छ।
राति कोशी र मधेस प्रदेश सामान्यतया बदली रहँदै बाँकी प्रदेशहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। राति पनि कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।