उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच शैक्षिक क्षेत्र विकास तथा अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।
महासंघ र विश्वविद्यालयबीच बुधबार महासंघ सचिवालयमा पाठ्यक्रम विकास, तालिम कार्यक्रम तथा संयुक्त परियोजना सम्भाव्यता अध्ययन लगायत विषयमा काम गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
समझदारीपत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार डा. सूर्यराज आचार्यले हस्ताक्षर गरे।
पाँच वर्षसम्म कायम रहने उक्त समझदारीपत्रमा दुवै पक्षले पाठ्यक्रम विकास, संयुक्त अनुसन्धान तथा नवप्रवर्तन, उद्यमशीलता विकास, विद्यार्थी इन्टर्नसिप तथा रोजगार अवसर सिर्जना गर्ने विषय समावेश छन्।
महासंघ अध्यक्ष ढकालले युवा जनशक्ति विदेश पलायन बढिरहेको अवस्थामा यस समझदारीले देशमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेश तथा विदेशमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताए।
‘उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवालाई रोजगारीका अवसर प्रदान गर्न यो सहकार्य फलदायी हुनेछ,’ उनले भने, ‘आगामी दिनमा पनि यस्ता सहकार्यका लागि हामी सकारात्मक छौँ।’
विश्वविद्यालयका कुलपति डा. बिन्दुनाथ लोहनीले महासंघसँग भएको सहकार्यले नेपालको शैक्षिक प्रणालीलाई विश्व बजारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
हाम्रो लक्ष्य विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक सीप र उद्यमशीलताको भावना प्रदान गर्नु हो,’ उनले भने, ‘महासंघसँगको सहकार्यले त्यो लक्ष्य प्राप्तिमा ठूलो योगदान दिनेछ भन्ने हाम्रो विश्वास छ।’
त्यस्तै, विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्कीले सीपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन विश्वविद्यालयको प्रमुख उद्देश्य रहेको बताए।
रजिस्ट्रार आचार्यले पुराना विश्वविद्यालयबाट निस्किएको जनशक्तिले बदलिँदो समाजको आवश्यकता पूरा गर्न नसकेको वर्तमान अवस्थामा समाज र श्रम बजारको मागअनुसार जनशक्ति उत्पादन गर्ने लक्ष्य विश्वविद्यालयले लिएको उल्लेख गरे।
गत जेठमा महासंघ र विश्वविद्यालयबीच विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप विकास तथा रोजगारीका अवसर प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकताअनुरूप दक्ष जनशक्ति उत्पादन गर्न सकिने विषयमा प्रारम्भिक छलफल भएको थियो।