बाँकेमा एक वर्षमा ३९९ महिला र बालबालिकाको उद्धार
बाँके जिल्ला स्थित मानवबेचबिखन तथा ओसारपसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना गृहले गत आर्थिक वर्ष २०८१-८२ मा ३९९ महिला र बालबालिकालाई उद्धार गरेको छ। बाँके जिल्लाका विभिन्न नाका र भारतबाट उद्धार गरिएका मध्ये ३०३ जनालाई अभिभावकको जिम्मा लगाइएको छ भने ९५ जनालाई प्रहरीको सहकार्यमा अभिभावकलाई जिम्मा लगाइएको छ। एक जनालाई अन्य संस्थामा पुनर्स्थापनाका लागि पठाइएको छ।
संस्थाले आठ जनाविरुद्ध मानवबेचबिखनको मुद्दा दर्ता गरेको छ भने नौ हजार ३९४ जनालाई परामर्श समेत दिएको छ। संस्थाका अध्यक्ष शान्ता सापकोटाले अभियानमा राज्यको सक्रियता आवश्यक रहेको भन्दै सामाजिक संघसंस्थाले सीमित क्षेत्रमा मात्रै कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे।
शान्ति पुनर्स्थापना गृहले बाँकेका पाँच स्थानमा सूचना तथा परामर्श केन्द्र स्थापना गरेर मानवबेचबिखनविरुद्धको अभियान सञ्चालन गर्दै आएको छ। जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले सरकारी निकाय, सामाजिक संघसंस्था र स्थानीय सरकारबीच समन्वयको आवश्यकतामा जोड दिए।