मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू ८ सूत्रीय मागसहित आन्दोलनमा
काठमाडौँ । मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू श्रम शोषण र दमन अन्त्यको मागसहित ८ सूत्रीय माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन्। आन्दोलनका क्रममा उनीहरूले लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित कार्य वातावरणमा काम गर्न बाध्य भएको गुनासो व्यक्त गरेका छन्।
आन्दोलनरत स्वास्थ्यकर्मीहरूको मुख्य मागमा नेपाल सरकारको ऐनअनुसार तलब स्केल लागू गर्ने, सरकारी स्वास्थ्य संस्थामा कार्यरत करारकर्मीलाई हटाई लोक सेवा आयोगमार्फत विज्ञापन गर्ने, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको सुनिश्चितता गर्ने, र हप्तामा अधिकतम ४२ घण्टाको कार्यसीमा तोक्ने लगायतका मागहरू रहेका छन्।
स्वास्थ्यकर्मी नवेश अधिकारीका अनुसार, मन्त्रालयले पटक–पटक निर्देशन र सूचना जारी गरे पनि निजी अस्पतालहरूले कार्यान्वयन नगरेकाले स्वास्थ्यकर्मीहरूको मनोबलमा गम्भीर असर परेको छ। “हामी बाध्य भएर सडकमा उत्रिएका हौँ,” अधिकारीले भने।
जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस पहल नभएको स्वास्थ्यकर्मीहरूको आरोप छ।
आन्दोलनका कारण बिरामी सेवामा असर पर्न सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले त्यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्ने चेतावनी दिएका छन्।