प्रचण्डद्वारा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न जोड, देशभक्त शक्तिबीच एकताको आव्हान
काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन निरन्तर प्रयास भइरहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम अझै अधुरो रहेको उल्लेख गर्दै, सरकारमा हुँदा र बाहिर हुँदा निरन्तर प्रयासरत रहेको बताए।
साथै उनले शहीद परिवार र बेपत्ता योद्धाका आफन्तहरूको भावना सम्मान गर्दै चाँडोभन्दा चाँडो शान्ति प्रक्रियासम्बन्धी सबै काम पूरा गर्नुपर्नेमा जोड दिए। प्रचण्डले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता’ माथिको गम्भीर चुनौतीको रूपमा चित्रण गरे।