एकीकृत समाजवादीसँगको एकता तत्काल रोक्न जनार्दन शर्माको माग
१५ कात्तिक, काठमाडौं — नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले नेकपा (एकीकृत समाजवादी) सँगको पार्टी एकता प्रक्रियालाई तत्काल स्थगन गर्न माग गरेका छन्।
शनिबार पार्टी महाधिवेशन आयोजन समितिको सचिवालय बैठकमा बोल्दै शर्माले एकता प्रक्रियालाई अहिलेको अवस्थामा अघि बढाउनुभन्दा पहिले वैचारिक स्पष्टता, संगठनात्मक पुनर्गठन र जनपक्षीय दिशामा ध्यान दिनुपर्ने बताए।
उनले भने, “यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन र वैचारिक स्पष्टता कायम गर्न सबै कमरेडहरूलाई आह्वान गर्दछु।”
शर्माको भनाइमा, बिना वैचारिक तयारी गरिएको एकताले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनुभन्दा कमजोर पार्ने र दक्षिणपन्थी अवसरवादलाई फाइदा पुर्याउनेछ। उनले यस्तो एकता हतारमा अघि बढाउँदा क्रान्तिकारी धार कमजोर हुने र माओवादी आन्दोलनको मूल उद्देश्य कमजोर बन्ने खतरा रहेको चेतावनी दिए।
उनका अनुसार, अहिलेको एकता “केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रयास” हो, जसले दीर्घकालीन रूपमा कम्युनिस्ट आन्दोलनमा नकारात्मक असर पार्नेछ।
शर्माले एकता अघि पार्टीभित्र गहिरो वैचारिक छलफल र विगतको समीक्षाको आवश्यकता औंल्याउँदै भने, “उचित गृहकार्य र वैचारिक स्पष्टता बिना गरिएको एकता दीर्घकालीन रूपमा हानिकारक हुनेछ।”