प्रचण्ड: राष्ट्र संकटमा, समाजवादी क्रान्ति नजिक, युवालाई उत्तराधिकारी मान्यता
काठमाडौं। नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र अहिले गम्भीर संकटमा रहेको उल्लेख गर्दै वर्तमान अवस्थालाई ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण’ भएको बताएका छन्।
शनिबार पेरिसडाँडामा शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न अझै जिम्मेवारी अधुरो रहेको बताए। उनले २३ र २४ गतेका घटनाक्रमलाई समाजवादी क्रान्तिको प्रारम्भिक संकेतका रूपमा व्याख्या गर्दै भने, “जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमा सम्भव छ।”
शहीद परिवार र बेपत्ता योद्धाका आफन्तको भावनालाई सम्मान गर्दै उनले भने, “हरेक नेतृत्वले आश्वासन दिन्छ, तर परिणाम ढिलो हुँदा शहीद परिवारमा आक्रोश आउनु स्वाभाविक हो। म त्यो आवेगलाई जिम्मेवारीको बोधका रूपमा लिन्छु।”
प्रचण्डले वर्तमान परिस्थितिलाई राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथिको चुनौतीको रूपमा चित्रण गर्दै सबै वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिलाई एकताबद्ध हुन आह्वान गरे। उनले युवाहरूलाई भ्रष्टाचारविरुद्ध आन्दोलनमा सक्रिय रहेर राजनीतिक चेतना जगाउने क्रान्तिकारी उत्तराधिकारीको रूपमा स्वागत गरे।
उनले शहीद प्रतिष्ठानलाई शहीद, बेपत्ता र घाइते योद्धाका परिवारहरूलाई व्यापक रूपमा संगठित गर्न र शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न निर्देशन दिएका छन्। प्रचण्डले विश्वास व्यक्त गरे कि साधारण सभाले जनताको तागतलाई केन्द्रित गर्दै सबै कम्युनिस्ट र देशभक्त शक्तिहरूलाई एकताबद्ध गर्नेछ।