मुस्ताङ: अवरुद्ध कागबेनी–छुसाङ सडक आजदेखि सञ्चालनमा
मुस्ताङ – बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध भएको कागबेनी–छुसाङ (कोरला नाका जोड्ने) नौ किलोमिटर सडक आजदेखि सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ कि शनिबारदेखि विभिन्न स्थानमा उपकरण प्रयोग गरी आवश्यक मर्मत कार्य पूरा गरी सडकमा यातायात सञ्चालनमा ल्याइएको हो।
जिल्ला प्रशासन कार्यालयको पहलमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सुरक्षा निकाय र कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको सहकार्यमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए।
सडक सञ्चालनमा आएसँगै बारागुङ मुक्तिक्षेत्र–३ छुसाङमा फसेका झण्डै ३५० भन्दा बढी सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
यद्यपि, कागबेनी–छुसाङसम्मको सडक सञ्चालनमा आए पनि कोरलानाका जोड्ने बारागुङ मुक्तिक्षेत्र–३ चैलेमा अवरुद्ध सडकको मर्मतका लागि टोली उपकरणसहित प्रस्थान गरेको छ।