जगदम्बा स्टिलले प्रिमियम महसुलको पहिलो किस्ता बुझाएपछि विद्युत् जडान पुनः सुरु
२६ कात्तिक, काठमाडौं । बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिल प्रालिले विगतमा लोडसेडिङका बेला ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ बाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार तिरेको छ ।
पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत् लाइन बुधबार साँझ जडान गरिएको छ । जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो ।
जगदम्बाको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ । जगदम्बाले माघ २०७२ देखि वैशाख २०७५ सम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापत प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो ।
बक्यौतालाई २८ किस्तामा विभाजन गरीे जगदम्बाले ५ करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको छ । सरकार र उद्योगीबीचको सहमति अनुसार पहिलो किस्ता बुझाएसँगै बिजुली जडानको काम धमाधम भइरहेको छ ।