७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ५८ कर्मचारीको सरुवा
काठमाडौँ, १२ कात्तिक — गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ५८ जना कर्मचारीको सरुवा गरेको छ। बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णय अनुसार सहसचिव र उपसचिव तहका कर्मचारीहरूको सरुवा गरिएको हो।
मन्त्रालयका अनुसार बद्रीनाथ गैह्रेलाई गुल्मीको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ। त्यस्तै, आनन्द सारुलाई दैलेख, बासुदेव दाहाललाई पाँचथर, गंगाबहादुर क्षेत्रीलाई रोल्पा, दिपक पौडेललाई जुम्ला, कल्पना घिमिरे नेपाललाई डोटी र अजिता शर्मालाई मुस्ताङको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको छ।
गृह मन्त्रालयका स्रोतका अनुसार अन्य ५१ जना सहसचिव र उपसचिव तहका कर्मचारीहरूको पनि आन्तरिक सरुवा गरिएको छ। मन्त्रालयले सरुवाको उद्देश्य प्रशासनिक कामकाजलाई प्रभावकारी बनाउने र स्थानीय तहमा सेवा प्रवाह सुदृढ गर्न रहेको जनाएको छ।
गृहमन्त्री अर्यालले “प्रशासनिक सन्तुलन र सेवा प्रभावकारिताका लागि नियमित सरुवा आवश्यक रहेको” बताएका छन्।