मौलाकाली केबलकार पुनःसञ्चालनको तयारी
भदौ २४ मा भएको जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः संचालनमा आएको छ। आन्दोलनबाट क्षति पुगेपछि बन्द भएको केबलकार दुई महिनापछि सफलतापूर्वक परीक्षण सञ्चालनमा आएको हो।
मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै नै नियमित सञ्चालन गर्ने तयारी भइरहेको छ। अझै केही दिन प्राविधिक परीक्षण जारी राख्ने र कुनै समस्या नदेखिए केही दिनभित्रै सर्वसाधारणका लागि खुला गरिने उनले बताए।
गैँडाकोट–१ स्थित ऐतिहासिक धार्मिक स्थल मौलाकालिका मन्दिरलाई लक्षित गरी गत वर्ष वैशाखदेखि सञ्चालनमा आएको यो केबलकार जेन्जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि बन्द भएको थियो।
‘आगजनी र तोडफोडका क्रममा केबलकारको तल्लो स्टेशनमा क्षति पुगेको थियो,’ उनले भने, ‘क्षतिग्रस्त उपकरणको विस्तृत परीक्षण तथा मर्मतका लागि केबलकार जडान गर्ने अष्ट्रियाली संस्थाबाट विशेष प्राविधिक टोली आएर एक सातासम्म परीक्षण गरेको थियो।’
प्राविधिक परीक्षणपछि क्षतिग्रस्त उपकरणको कमजोरी पहिचान गरी आवश्यक मर्मतसम्भार सम्पन्न भएकाले केबलकार पुनः सञ्चालनमा ल्याइएको पौडेलले बताए। आन्तरिक परीक्षणबाट सबै प्रणाली स्थिर रूपमा कार्यरत रहेको पुष्टि भएसँगै केही दिनभित्रै सर्वसाधारणका लागि औपचारिक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको पनि उनले बताए।
‘मर्मतपछि केबलकारको सम्पूर्ण प्रणाली प्राविधिक रूपमा सुरक्षित रहेको पुष्टि भएको छ,’ स्टेशन म्यानेजर पौडेलले भने, ‘अब अन्तिम चरणका केही परीक्षण र निरीक्षणपछि पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ।’ मौलाकालिका मन्दिरका दर्शनार्थी तथा अपर स्टेशनस्थित होटलमा जाने यात्रुहरू निश्चिन्त भएर यात्रा गर्न सक्ने अवस्था भएपछि नियमित सञ्चालनमा ल्याइने उनले बताए।
मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनका क्रममा केबलकारमा भएको आगजनी र तोडफोडका कारण ठूलो आर्थिक क्षति पुगेको बताए। उनका अनुसार संरचना तथा उपकरणमा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। केबलकार बन्द हुँदा मौलाकालिका मन्दिरमा आउने भक्तजनको संख्या पनि घटेको जनाइएको छ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार पछिल्लो समय मन्दिरमा भक्तजनको उपस्थिति न्यून छ। ‘केबलकार सञ्चालनमा हुँदा यहाँ उल्लेख्य संख्यामा दर्शनार्थी आउने गर्थे,’ उनले भने, ‘केबलकार बन्द भएकाले यस वर्ष दसैँमा अपेक्षाकृत कम भक्तजन आए।’ अब केबलकार नियमित सञ्चालनमा आएपछि मन्दिरमा भक्तजनको आगमन फेरि वृद्धि हुने अपेक्षा गरिएको उनले बताए।
उनका अनुसार पछिल्लो समय धार्मिक उद्देश्यका साथै प्रकृति अवलोकन गर्न आउने पर्यटकको संख्या पनि बढ्दै गएको छ। ‘हिउँदमा मन्दिरबाट बिहान मन्दिरमुनिको बजार क्षेत्रमा देखिने कुहिरो तथा सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ,’ उनले भने, ‘यससँगै उत्तरतर्फ तनहुँ र गोरखाका रमणीय पहाड तथा हिमालसमेत अवलोकन गर्न सकिन्छ।’
समुद्री सतहबाट ५६१ मिटर उचाइमा रहेको मौलाकालिका मन्दिर नारायणघाट बजारबाट पाँच किलोमिटर पश्चिम–उत्तरतर्फ पर्छ।