गण्डकी प्रदेश सांसदका स्वकीय सचिवको तलब असोजदेखि रोकियो
गण्डकी, कात्तिक ११ — गण्डकी प्रदेशसभा सदस्य (सांसद)का स्वकीय सचिवहरूको असोज महिनाको तलब रोकिएको छ। प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलका अनुसार संघ सरकारले पठाएको परिपत्रअनुसार प्रदेशले तलब नदिने निर्णय लागू गरेको हो।
प्रदेशमा ६० सांसदमध्ये ८ जना मन्त्री छन् भने ५२ सांसदका स्वकीय सचिव तलबविहीन भएका छन्। रोकिएको तलबबाट मासिक करिब १९ लाख ७२ हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ। तर, सभामुख र उपसभामुखका स्वकीय सचिवको सुविधा भने कायम राखिएको छ।
कानुनविद्हरूको अनुसार, संविधान वा कानुनमा व्यवस्था गरिएको सुविधा परिपत्र मात्रले खारेज गर्न मिल्दैन र आवश्यक परे कानुन संशोधन गरेर मात्र रोकथाम गर्न सकिन्छ। प्रदेश सरकारले संघको परिपत्र र आफ्नो पत्र दुवैको आधारमा तलब रोक्ने निर्णय लागू गरेको सचिव पौडेलले जानकारी दिएका छन्।