रेशम चौधरीले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिए निवेदन
काठमाडौँ, ३० अक्टोबर – नागरिक उन्मुक्ति पार्टीबाट अलग भएका रेशम चौधरीले ४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
नयाँ पार्टीमा रेशम चौधरी स्वयं अध्यक्ष वा परिवारका सदस्य राखेका छैनन्। अध्यक्षको जिम्मेवारी जेनजी पुस्ताका कबीर सोपलाई दिइएको छ भने महासचिवको पदमा उमाशंकर चौधरी रहेका छन्। रोचक पक्ष के छ भने हालै डा. सीके राउत नेतृत्वको जनमत पार्टी छाडेका अब्दुल खानलाई उक्त पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको छ।
रेशम चौधरी र रञ्जिता श्रेष्ठबीच पार्टी नेतृत्वलाई लिएर विवाद भएपछि चौधरी नागरिक उन्मुक्ति पार्टीबाट अलग भएका थिए। उनी जेलमा रहँदा श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर २०७८ पुस १९ गते पार्टी दर्ता गरिएको थियो। जेलबाटै गठन गरिएको पार्टीले २०७९ को चुनावमा राम्रो प्रदर्शन देखाएको थियो।
जेलबाट निस्केपछि रेशमले महाधिवेशन गराए पनि रञ्जिता श्रेष्ठले आफू अध्यक्ष रहने अडान राखेकी थिइन्। टीकापुर मुद्दाका कारण निर्वाचन आयोगले रेशमलाई अध्यक्षको मान्यता नदिँदा उनले रञ्जितालाई नै अध्यक्ष मानेर पार्टीमा सक्रिय रहे।
तर नेतृत्व विवाद बढ्दै जाँदा पछिल्लो राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट हटायो। निर्वाचन आयोगले यसलाई मान्यता नदिँदा रेशम चौधरीले पार्टीबाट अलग हुने निर्णय गरे।
यसैबीच, रञ्जितालाई हटाएर रामलाल चौधरीको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टीलाई पुनर्संरचना गर्ने तयारी गर्दै अर्को निवेदन निर्वाचन आयोगमा दर्ता गरिएको छ।