बजेट अभावका कारण छोरी शिक्षा बिमा कार्यक्रम स्थगित
मधेस प्रदेश सरकारले सात वर्ष अघि ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजना अन्तरगत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रममा बजेट अभावका कारण स्थगित गरिएको छ ।
मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट नै विनियोजन नगरेको हो । शिक्षा विकास निर्देशनालयका छोरी शिक्षा बिमा कार्यक्रमका संयोजक प्रियकां यादवले बजेट नहुँदा कार्यक्रम स्थगित भएको बताए।
उक्त कार्यक्रममार्फत हालसम्म १४ हजार ४५३ जना छोरीको बिमा गरिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार ६६६, आव २०७८/७९ मा एक हजार ७०२, आव २०७९/८० मा तीन हजार ३०२ र आव २०८०/८१ मा तीन हजार ७८३ जना छोरीको बिमा गरिएको थियो ।
कार्यक्रमअन्तर्गत हालसम्म १० हजार जना छोरीको प्रिमियम तिर्न बाँकी रहेको संयोजक यादवले बताए । एक जना छोरीको बिमा गर्दा ३७ हजार ४५७ प्रिमियम तिर्नुपर्छ ।