जेनजी आन्दोलनको आगजनीमा संलग्न पक्राउ परेका भुवन शाही सेनाबाट बर्खास्तीमा रहेकाले खुलेको
काठमाडौं, ११ कात्तिक । जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका भुवन शाही सेनाबाट बर्खास्तीमा परेको खुलेको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१ घर भएका २७ वर्षीय शाहीलाई सोमबार मिनभवनबाट पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्कीले जानकारी दिए। धापासी कृष्ण मन्दिर बस्दै आएका शाही २०७४ सालमा नेपाली सेनामा प्रवेश गरेका थिए र २०७५ मा बर्खास्तीमा परेका थिए। उनले चालकको नक्कली लाइसेन्स पेश गरेको कारण बर्खास्तीमा परेको थियो।
पक्राउको क्रममा प्रहरीले जानकारी दिएको छ कि शाही २४ भदौको जेनजी आन्दोलनमा प्रहरी वृत्त गौशाला तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको भिडिओमा देखिएका थिए। उनले बानेश्वरको ग्लोबल कलेजमा प्रवेश गरेर लुटपाट गरेको समेत फुटेजमा पुष्टि भएको छ।
प्रहरीका अनुसार शाहीले प्रहरीको मोटरसाइकल, राइट कन्ट्रोल गियर, ग्लोबल कलेजका दुई ट्रफी, गाडीको ड्यासबोर्डमा राखिएको गणेशको मूर्ति र क्यानन कम्पनीको डीएसएलआर क्यामेरा लुटेको देखिएको छ।