राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल गइ सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका छन्।
छठ पूजाका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित गुह्येश्वरी पुगेका थिए। राष्ट्रपति पौडेललाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोष र गुह्येश्वरी छठ पूजा समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए।
देशका विभिन्न भागमा भव्य रुपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ।
छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको छ।
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानलाई पनि सजाउने गरिन्छ।
यहाँको साजसज्जा हेर्न भक्तजनको घुइँचो लागेको छ। भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको बागमती नदी किनारको वातावरण मेलामय बनेको छ।