वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईको प्रारम्भिक बहस सुरु
१२ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सुनुवाइ सुरु भएको छ। रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईसहितका कानुन व्यवसायीहरूले प्रारम्भिक बहस गर्दै छन्।
उक्त रिटमाथि सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको हो। इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन्।
गत २७ भदौमा अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए। सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा विभिन्न रिट दायर भएका थिए।
जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि प्रतिनिधि सभाबाट नयाँ सरकार गठन हुन नसकेको स्थिति थियो। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।
रिट निवेदकहरूले अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटन दुवै संविधानविपरीत भएको दाबी गर्दै त्यसको न्यायिक पुनरावलोकनको माग गरेका छन्। आजदेखि सुरु भएको सुनुवाइमा प्रारम्भिक बहसपछि विपक्षी पक्षका तर्फबाट जवाफ प्रस्तुत गरिनेछ।
सर्वोच्च अदालतले आवश्यक परे लिखित जवाफ र कानुनी व्याख्या माग्न सक्ने जनाइएको छ।