हायात होटल बन्द गर्ने निर्णयमा जेटीयूसीसीको आपत्ति
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति आपत्ति जनाएको छ ।
केन्द्रले होटलको उक्त कदमलाई ’श्रमिक विरोधी, एकपक्षीय र नियोजित रुपमा रोजगारी सिर्जना गर्ने’ कदम भएको ठहर गर्दै आपत्ति जनाएको हो ।
होटल हायात प्रशासनले भाद्र २३ र २४ गतेको ‘जेनजी आन्दोलन’को क्रममा भएको क्षति तथा सुरक्षा अवस्थालाई कारण देखाउँदै अनिश्चितकालिन बन्द गर्नेगरी कात्तिक २ गते सूचना जारी गरेको थियो ।
जेटीयूसीसीले जारी गरेको प्रेस विज्ञप्तिमा होटल प्रशासनले सरोकारवालाहरुसँग छलफल नगरी सम्पूर्ण श्रमिकलाई कार्यस्थलमा उपस्थित नहुन निर्देशन दिएको विषय नेपालको प्रचलित श्रम कानून विपरीत भएको उल्लेख छ ।
प्रतिष्ठानमा भएको क्षतिको यथार्थ विवरण, वर्तमान अवस्था र मर्मत–सम्भारमा लाग्ने समयबारे सरकारी निकायको अनुसन्धान र छानवीनपछि मात्र निर्णय गर्नुपर्नेमा सुनियोजित रुपमा ट्रेड युनियनहरुसँगको छलफलविना बन्द गर्ने निर्णय ’अव्यवहारिक, अवैधानिक र गैरकानूनी’ भएको जेटीयूसीसीको ठहर छ ।
जेटीयूसीसीका अध्यक्ष जगत बहादुर सिम्खडाले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय छवि बोकेको संस्थाबाट श्रमिक विरोधी निर्णय आउनु दुःखद र निन्दनीय रहेको बताइएको छ । यसले नेपालको अन्तर्राष्ट्रिय छवि धमिलो पार्ने, लगानी सुरक्षामा प्रश्न उठाउने र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने चेतावनी दिइएको छ ।
विज्ञप्तिमा जेनजी आन्दोलनमा क्षति पुगेका हिवन होटेलले आफ्ना श्रमिकलाई अन्य विदेशी होटेलमा सुरक्षित रूपमा स्थानान्तरण गरेको तथा भाटभटेनी सुपरमार्केटले क्षतिग्रस्त भएपनि कार्यरत श्रमिकलाई संरक्षण गरिरहेको उदाहरणलाई सकारात्मक श्रमिक–मैत्री अभ्यासका रुपमा प्रस्तुत गरिएको छ ।
जेटीयूसीसीले होटल हयात प्रशासनलाई तत्काल आफ्नो निर्णय फिर्ता लिएर होटेल सञ्चालनमा ल्याउन तथा सबै श्रमिकको रोजगारी सुरक्षित गर्न हार्दिक आग्रह गरेको छ । साथै, सरकार र सम्बन्धित निकायहरुलाई घटनाको निष्पक्ष छानविन गरी क्षति पुरÞ्याउने पक्षमाथि आवश्यक कारवाही गर्न र पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन समेत माग गरिएको छ ।
होटल प्रशासनले श्रमिक विरोधी निर्णय यथावत राखेमा कोरोना कालदेखि हालसम्म भएका मजदुर विरोधी हर्कतहरूको प्रतिफल स्वरूप श्रमिकहरू 'कडा संघर्षमा उत्रन बाध्य हुने’ र त्यसबाट उत्पन्न हुने जुनसुकै परिणामका लागि होटेल प्रशासन स्वयं जिम्मेवार हुने जेटीयूसीसीले चेतावनी दिएको छ ।