१८ वर्ष बित्दा पनि महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित
कञ्चनपुर, कात्तिक १४ —कञ्चनपुर र कैलालीका ३३ हजार ५२० हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्यसहित करिब १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजनाको प्रगति हालसम्म २७ प्रतिशतमा मात्रै सीमित रहेको छ। सो अवधिमा आयोजनामा करिब नौ अर्ब रुपैयाँ खर्च भइसकेको छ।
बजेटको अभाव, जग्गा मुआब्जा वितरणमा ढिलाइ, वन क्षेत्र व्यवस्थापन लगायतका कारणले आयोजना कछुवाको गतिमा अघि बढेको हो।
“मुआब्जामा स्थानीय असन्तुष्टि, जग्गा सम्बन्धी समस्या र समयमा वन क्षेत्र व्यवस्थापन नहुँदा प्रगति सुस्त भएको हो,” आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेशभक्त पोखरेलले बताए।
उनका अनुसार निर्माण कम्पनीसँग एक अर्ब ९७ करोड रुपैयाँको सम्झौता गरी कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण कार्य चार चरणमा जारी छ। हालसम्म ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिका–९ फुलेलीसम्म २८.८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ।
महाकाली सन्धिअनुसार भारतीय पक्षले टनकपुरदेखि नेपाल–भारत सिमानासम्म पर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ। सरकारका अनुसार आगामी २०८७ सालसम्ममा कैलालीको मालाखेतीसम्म नहर निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।