चाँदी बरामदपछि प्रहरी–व्यवसायी झडप, गोली र अश्रुग्यास प्रहार
जनकपुरधाम, कात्तिक १ — तिहारको मुख्य पर्व धनतेरसको पूर्वसन्ध्यामा जनकपुरधामको सोनारपट्टी तनावग्रस्त बनेको छ। संजय ठाकुरको नयाँ खुलेको ज्वेलर्समा प्रहरीले छापा मार्ने क्रममा प्रहरी र व्यवसायीबीच झडप भएपछि स्थिति बिग्रिएको हो।
झडपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् भने १० जना प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेशबहादुर बमले जानकारी दिएका छन्।
डिएसपी बमका अनुसार विशेष सूचनाको आधारमा राति ८ बजे सिभिल ड्रेसमा पुगेको प्रहरी टोलीले संजय ठाकुरको ज्वेलर्सबाट बिल–विजकबिनाको अनुमानित ७ किलो चाँदी बरामद गरेको हो। चाँदी बरामदपश्चात सुनचाँदी व्यवसायी संघको प्रतिनिधिलाई बोलाएर मुचुल्का तयार गर्ने प्रक्रिया चलिरहेका बेला विवाद सुरु भएको थियो।
प्रहरीका अनुसार, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले चाँदी लैजान नदिने "आतंक सिर्जना" अडान लिएपछि स्थिति तनावग्रस्त बन्यो। झडप बढेपछि प्रहरीलाई ७ राउन्ड हवाइ फायर र २ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको डिएसपी बमले बताए।
जनकपुर उद्योग वाणिज्य संघका महासचिव फुलदेव पण्डितले भने प्रहरी पक्षले धनतेरसको मुखमा गरेको आरोप लगाए। उनका अनुसार, संजय ठाकुरले भर्खरै खोलेको पसलमा अरुले दिएको चाँदी प्रयोग गरेर गहना बनाउने गरिन्छ। सुरुमा पायल बनाउने बहानामा एक जना सिभिल ड्रेसको प्रहरी पसलमा छिरेपछि थप प्रहरी आएर चाँदी जबर्जस्ती लैजान खोजेको उनले बताए।
‘हामीले विरोध गर्दा प्रहरीले लाठीचार्ज र अश्रुग्यास चलायो,’ महासचिव पण्डितले भने, ‘यही क्रममा अध्यक्ष भण्डारी घाइते हुनुभयो। त्यो अपमानजनक व्यवहार हो।’
प्रहरीको उक्त छापा जिल्ला प्रशासनसँग समन्वयबिनै भएको पाइएको छ। प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आफूलाई औपचारिक रूपमा जानकारी नदिइएको बताएका छन्।
‘मलाई जानकारी थिएन,’ सिडिओ आचार्यले भने, ‘राजश्व अनुसन्धानसँगको समन्वयमा प्रहरी गएको भन्ने सुनेको छु तर समन्वय भएको भए सशस्त्र प्रहरी पनि जान्थ्यो।’
तर डिएसपी बमले राजश्व अनुसन्धान विभाग, पथलैया भने सँगको समन्वयपछि मात्र छापा मारिएको बताए। "राजश्व छलेर चाँदी बिक्री भइरहेको सूचनाका आधारमा छापा मारिएको हो। विभागले हामीलाई अनुसन्धान गर्न भन्यो, त्यसपछि हामी छापामा गयौं," उनले प्रष्ट पारे।
उद्योग वाणिज्य संघ जनकपुरले प्रहरीमाथि अनावश्यक बल प्रयोग र व्यवसायीप्रति दुव्र्यवहार गरेको आरोप लगाउँदै दिएको छ। महासचिव पण्डितले दोषी प्रहरीलाई कारबाही नगरिए कडा कदम चालिने बताएका छन्।
धनतेरसजस्तो संवेदनशील दिनमा प्रहरी छापा, व्यवसायी र प्रहरीबीचको झडप, गोली र अश्रुग्यास प्रयोग भएपछि जनकपुरधाममा सुरक्षा अवस्था तनावग्रस्त बनेको छ। स्थानीय व्यवसायीहरू आक्रोशित छन् भने प्रशासनले अवस्था सामान्य पार्न पहल थालेको छ।