काभ्रेमा तोडफोड र आगजनी प्रकरणमा प्रहरीले सुरु गर्यो विशेष अनुसन्धान
गत भदौ तेस्रो साता भएको ‘जेनजी आन्दोलन’का क्रममा काभ्रेपलाञ्चोकमा भएको तोडफोड, आगजनी र लुटपाट घटनाको प्रहरीले विशेष अनुसन्धान सुरु गरेको छ। धुलिखेल प्रहरी कार्यालयमा ६ वटा निजी संरचनाको क्षतिबारे उजुरी परेपछि अनुसन्धान तीव्र बनाइएको हो।
बनेपा इलाका प्रहरी कार्यालयले हालसम्म ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ। अनुसन्धानका क्रममा सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्याउने र उक्साउनेको पहिचान गरी पक्राउ गर्ने योजना बनाइएको प्रहरीले जनाएको छ।
गत भदौ २४ गते बनेपा, पनौती र धुलिखेल क्षेत्रमा भएका घटनामा नगरपालिका भवन, प्रहरी कार्यालय, पार्टी कार्यालय र जनप्रतिनिधिका घरमा तोडफोड र आगजनी भएको थियो। प्रदर्शनका क्रममा चार जनाको मृत्यु भएको थियो।
प्रहरीले ध्वंसात्मक गतिविधिमा संलग्नविरुद्ध प्रमाणका आधारमा कारबाही गर्ने र क्षति पुगेका सरकारी–निजी संरचनाको अनुगमन तथा अनुसन्धान जारी राख्ने जनाएको छ।