नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै भेला बोलाइयो
काठमाडौं, १४ कात्तिक – नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको समूहले भेला बोलाएको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस हुन नसकेकाले समूहले पार्टीमाथि दबाब सिर्जना गर्ने उद्देश्यले भेला बोलाएको हो।
समूहका नेता गुरूराज घिमिरेका अनुसार भेला ‘सल्लाह बैठक’को रूपमा आयोजना गरिएको हो। भेला आइतबार साढे १२ बजे नयाँ बानेश्वरस्थित आनन्दभूमिमा हुनेछ। उनले भने, “काठमाडौंमा उपलब्ध साथीहरूका बीच अब के गर्ने भनेर सल्लाहका लागि बैठक हो।”
गत २९ असोजमा दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो। तर ३० असोजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनको माग एजेन्डामा पेस भएको छैन।