स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख नगद र सुनसहित चिनियाँ र नेपाली महिला पक्राउ
काठमाडौँ — प्रहरीले काठमाडौँको स्वयम्भू सानोभर्याङबाट स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँ नगद र सुनका गहना सहित दुई जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान पक्राउ परेकामध्ये एक जना चिनियाँ नागरिक र एक जना नेपाली महिला रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङ नीलकण्ठ नगरपालिका निवासी २२ वर्षीया रोजिना सुनार रहेका छन्। उनीहरू सरिता महर्जनको घरमा भाडामा बस्दै आएको कोठाबाट पक्राउ परेका हुन्।
प्रहरीले उक्त कोठाबाट नेकलेस २ थान, झुम्का २ थान, बाला ४ थान, औंठी ३ थान र शिरबन्दी १ थान बरामद गरेको जनाएको छ। साथै, उनीहरूका साथबाट आईफोन र म्याकबुक समेत फेला परेको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवैजनामाथि स्रोत नखुलेको सम्पत्तिसम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको छ। यो घटनाबारे थप विवरण प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गर्दैछ।