सवारी दुर्घटनामा २४ घण्टाभित्र चार जनाको मृत्यु
काठमाडौँ। देशभरका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा मङ्गलबारसम्मको २४ घण्टाभित्र चार जनाको मृत्यु भएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका-१७, पकलीस्थित सडकमा बसको ठक्करबाट २२ वर्षीय सराज मनसुरीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२४ स्थित सडकमा सोमबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किँदा ६० वर्षीया कोशिला देवी मुखियाको मृत्यु भएको छ। गम्भीर घाइते उनलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको छ।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-३, घोडपालीस्थित सडकमा सोमबार बेलुकी लहरीको ठक्करबाट ४ वर्षीया अनुष्का चौधरीको मृत्यु भएको छ। जिल्ला अस्पताल परासीमा उपचारको क्रममा उनको निधन भएको हो। लहरी चालक प्रहरी नियन्त्रणमा छन्।
रूकुम पश्चिमको चौरजहारी नगरपालिका-६, शान्ति बजारस्थित सडकमा सोमबार साँझ ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३० वर्षीय कृष्ण विकको मृत्यु भएको छ। गम्भीर घाइते भएका विकको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा निधन भएको प्रहरीको भनाइ छ।
प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ।