पूर्वसभामुख महराको थुनछेक बहस सुरु, बचाउ पक्षको आरोप– 'अन्दाजमै अभियोजन
काठमाडौँ, २९ असोज— पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा विरुद्ध जिल्ला अदालत काठमाडौँमा आज थुनछेक बहस सुरु भएको छ। महराको पक्षबाट अधिवक्ता मुरारी सापकोटाले प्रारम्भिक बहस पेस गरेका हुन्।
बहसका क्रममा सापकोटाले महरालाई अभियोग लगाउन प्रयोग गरिएको आधार अपर्याप्त र अनुमानमा आधारित रहेको दाबी गरे। "गोश्वारा हुलाक कार्यालयले भेपमा सुन भएको भनेको मात्रै आधार हो," अधिवक्ता सापकोटाले अदालतमा तर्क गरे, "तर अभियोगपत्रमा कति परिमाणको सुन जफत भयो भन्ने यकिन प्रमाण छैन।"
उनले अभियोजन पक्षले ९ केजी सुन थियो होला भन्ने अन्दाज मात्र लिएको उल्लेख गर्दै, यस्तो आधारमा अभियोग लाग्न नसक्ने बताए।
महराविरुद्ध अवैध सुन प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको छ। आजको थुनछेक बहस अझै जारी रहेको छ।