मकवानपुर–काठमाडौँ जोड्ने फाखेल एकतर्फी सञ्चालन
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुर हुँदै काठमाडौँ जोड्ने अधिकांश सडक मार्ग अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुर काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–फाखेल फर्पिङ सडक एकतर्फी सञ्चालन रहेको छ भने त्रिभुवन राजपथ, कान्ति लोकपथ र सिस्नेरी सडकमा अवरोध कायमै छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले सडक अवरुद्ध भएपछि शनिवारदेखि हेटौँडामा रोकिएका सवारी साधनलाई भीमफेदी-कुलेखानी फाखेल फर्पिङ सडक हुँदै गन्तव्यतर्फ पठाउन थालिएको छ ।
उनका अनुसार शनिवार हेटौँडामै रोकिएका करिब ५० वटा यात्रुवाहक सवारीमध्ये बिहान ९ : ३० बजेसम्म करिब १५ /२० वटा सवारीसाधन काठमाडौँ प्रस्थान गरेका छन् ।
प्रहरी निरीक्षक सापकोटाले शनिवारदेखि रोकिएका सवारीसाधनलाई पहिलो प्राथमिकता दिएर काठमाडौं पठाइएको बताए । उनले त्रिभुवन राजपथका केही स्थानमा सडकमा ढुङ्गा खसेर अवरुद्ध भएको छ भने केही स्थानमा रुख नै ढलेका छन् ।