सिरहा आक्रमण प्रकरणमा गृहमन्त्रीको चासो, निष्पक्ष छानबिन गर्न आईजीपीलाई निर्देशन
६ कात्तिक, काठमाडौं । सिरहाको मिर्चैयामा एक विपन्न परिवारमाथि भएको आक्रमण घटनालाई राजनीतिक दबाबमा सामसुम पार्ने प्रयास भइरहेको आरोपबीच गृहमन्त्री ओमप्रकाश अर्याल ले घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
गृहमन्त्री अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ लाई फोनमार्फत घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्। स्रोतका अनुसार गृहमन्त्रीले आईजीपीलाई घटनाबारे विस्तृत जानकारी लिन र कानुनी प्रक्रिया अगाडि बढाउन आदेश दिएका हुन्।
‘घटनाबारे बुझ्नुहोस् र प्रहरीले के गर्नुपर्ने हो, त्यसअनुसार प्रक्रिया अगाडि बढाउनुहोस्,’ गृहमन्त्रीको निर्देशन उद्धृत गर्दै स्रोतले जनाएको छ। आईजीपी खापुङले पनि घटनाबारे बुझेर आवश्यक कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
सिरहाको मिर्चैया नगरपालिका–३, छड्की टोल मा भएको घटनामा एकै परिवारका चार जना घाइते भएका थिए। पीडित परिवारका अनुसार आक्रमणमा संलग्न पाँच जनामध्ये तीन जनालाई राजनीतिक दबाबका कारण प्रहरीले रिहा गरेको आरोप छ।
जाहेरी दर्ता नगरी दोषीलाई उम्काउन खोजिएको समाचार सार्वजनिक भएपछि गृहमन्त्री अर्यालले प्रत्यक्ष चासो दिएका हुन्।
गृहमन्त्रीको निर्देशनपछि गृह मन्त्रालयले सिरहा प्रहरीले घटनाबारे प्रतिवेदन पेश गर्न भनेको बताइएको छ। स्थानीयबासीले घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्।