किस्ट अस्पतालमा कुटपिटप्रति चिकित्सक संघको आपत्ति, दोषीमाथि कारबाहीको माग
ललितपुर, कात्तिक ११ — किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि गरिएको कुटपिट तथा तोडफोडप्रति नेपाल चिकित्सक संघले कडा आपत्ति जनाएको छ। संघले घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ।
कार्तिक ८ गते उपचारका क्रममा एक गर्भवती महिलाको मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए।
घटनापछि मंगलबार जारी विज्ञप्तिमा संघले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको हिंसात्मक घटनाको घोर भत्सर्ना गर्दै दोषीहरूलाई कानूनी दायरामा ल्याउन माग गरेको छ। साथै, संघले निधन भएकी गर्भवती महिलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
“यदि उपचारको क्रममा लापरबाही भएको आशंका छ भने त्यसको समाधानका लागि कानूनी बाटो खुला छ, तर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र स्वास्थ्य संस्था तोडफोड गर्नु अमानवीय कार्य हो, जसले सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीमा नकारात्मक असर पार्छ,” विज्ञप्तिमा भनिएको छ।
संघले यस्तो घटनाले स्वास्थ्यकर्मीको मनोबल कमजोर बनाउने र सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने उल्लेख गर्दै, दोषीहरूलाई *स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन २०६६ (संशोधन २०७९)* बमोजिम कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ।
त्यस्तै, संघले सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्न राज्यले आवश्यक कानूनी र सुरक्षात्मक व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ।