काठमाडौं गौरीघाटमा महिला हत्या, श्रीमान् पक्राउ
काठमाडौं, असोज २७– काठमाडौं महानगरपालिका–७ स्थित गौरीघाट मिलनचोकमा आइतबार भएको एक महिलाको हत्याको आरोपमा उनका श्रीमान् पक्राउ परेका छन्।
प्रहरीका अनुसार ४० वर्षीया विमला तामाङ (अप्सरा कार्की) को हत्या आरोपमा उनका श्रीमान् ३५ वर्षीय छिरिङ उर्फ तेन्जिङ शेर्पालाई पक्राउ गरिएको हो। उनीहरू संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका हुन्।
अप्सरा कार्की आइतबार दिउँसो आफ्नै डेरा कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। शंकास्पद अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।
अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले श्रीमान् तेन्जिङ शेर्पालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार श्रीमान्–श्रीमतीबीच विवाद बढेपछि झगडा भएको थियो, जसक्रममा तेन्जिङले अप्सरालाई कुटपिट गर्दै ढुंगा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।