गोर्खा सम्पर्क कमिटीद्वारा देउसी–भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) गोर्खा सम्पर्क कमिटीद्वारा दशैं, तिहार, नेपाल सम्बत, छठ, ल्होसार लगायतका पर्वहरूको अवसरमा आयोजित चियापान, शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम राजधानीको म्हेपीस्थित गण्डकी कलेजमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा युवा नेता नितेश पौडेल रहेका थिए। कार्यक्रममा पार्टी सल्लाहकार परिषद सदस्य पिताम्बर सिम्खडा, लेखा आयोगका केन्द्रीय सदस्य द्रोणबहादुर अधिकारी, संघीय सम्पर्क कमिटीका उपाध्यक्ष राजकुमार वाग्ले, गण्डकी सम्पर्क कमिटीका कार्यवाहक अध्यक्ष सुरेशबाबु अ्म्गाई, युवा संघ नेपालका केन्द्रीय संयोजक रोशन थापा, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष मेघनाथ चापागाईं,युवा संघ लेखा आयोग अध्यक्ष बलराम प्रसाद उप्रेती, युवा संघ नेपालका कार्यालय सदस्य गौरिशंकर राणा, तथा आयोजक कमिटिका सदस्यहरू सुरेश अधिकारी, आर्यन जङ, राज गुरुङ, साथै पर्यटन व्यवसायी सूर्यबहादुर घिमिरे,लम्जुङ सम्पर्क कमिटिका अध्यक्ष सन्दिप मल्लको र डोल्पा जिल्लाका पार्टी उपाध्यक्ष लगायतका पार्टी नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नितेश पौडेलले जेनजि आन्दोलनले विद्रोहको स्वरलाई थप पुष्टि गरेको बताउँदै, बामपन्थी शक्तिहरूबीच एकता र नयाँ ढाँचाबाट बाम आन्दोलनलाई सशक्त रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
त्यस्तै, अनेरास्ववियूका उपाध्यक्ष मेघनाथ चापागाईंले जेनजि ले उठाएको विद्रोह नै आफुहरूको आन्दोलनको मुख्य मुद्दा भएको बताउँदै, “खड्ग ओलीजस्ता बहुलठ्ठी शासकहरूको कारण देश दुर्घटनाको बाटोमा पुगेको छ,” भन्ने टिप्पणी गरेका थिए।
त्यस्तै, लेखा आयोगका केन्द्रीय सदस्य द्रोणबहादुर अधिकारीले आफ्नो विद्रोह सत्य, निष्ठा र सुशासनको पक्षमा रहेको बताउँदै भने,
“नेकपा (एकीकृत समाजवादी) समाजवादको एजेन्डा बोकेर अघि बढेको छ। अब सबै बामपन्थीहरू एकै बाटोमा आउनुपर्छ।”
त्यसैगरी, संघीय सम्पर्क कमिटीका उपाध्यक्ष राजकुमार वाग्लेले गोर्खा सम्पर्क कमिटीले क्यालेन्डर बनाएर योजनाबद्ध रूपमा गतिविधि सञ्चालन गरेकोमा आभार प्रकट गर्दै, सम्पर्क कमिटीहरूले पार्टी आन्दोलनमा सशक्त भूमिका खेलिरहेको बताए।
कार्यक्रममा पार्टी सल्लाहकार परिषद सदस्य पिताम्बर सिम्खडा, गण्डकी सम्पर्क कमिटीका कार्यवाहक अध्यक्ष सुरेशबाबु अ्म्गाई, युवा संघ संयोजक रोशन थापा, पर्सेप्ट मिडियाका अध्यक्ष शुष्मा सुवाल, बलराम प्रसाद उप्रेती, गौरिशंकर राणा, र पर्यटन व्यवसायी सूर्यबहादुर घिमिरे, युवा ब्यवसायि ईश्वर बाग्ले लगायतका वक्ताहरूले पनि शुभकामना मन्तव्य राखेका थिए।
वक्ताहरूले नेपाली पर्वहरूले एकता, सहकार्य र सामाजिक सद्भाव सुदृढ पार्ने सन्देश दिने भन्दै, सांस्कृतिक विविधता र सहअस्तित्व नेपालको पहिचान भएको उल्लेख गरे।
साथै, पार्टी र सङ्गठनबीचको सहकार्य तथा सांस्कृतिक पहिचान संरक्षणमा यस्ता कार्यक्रमहरूले सशक्त भूमिका खेल्ने उनीहरूको भनाइ थियो।



