कोशीमा मृत्यु हुनेको संख्या ४३ पुग्यो, २६ हजारभन्दा बढी विस्थापित
कोशी प्रदेशमा मनसुनजन्य विपद्का कारण ठुलो जनधनको क्षति भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी हालसम्म ४३ जनाले ज्यान गुमाएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् ।
प्रहरीका अनुसार बाढी–पहिरोमा परी मृत्यु हुनेमा १८ जना पुरुष र २५ जना महिला रहेका छन् । विपद्बाट सबैभन्दा बढी इलाम प्रभावित भएको छ । इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । जसमा १३ पुरुष, १४ महिला, ३ बालक र ७ बालिका रहेका छन् । त्यसैगरी, पाँचथर र मोरङमा २–२ जना, उदयपुरमा २ जना र खोटाङमा ३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।
विपद्का घटनामा परी प्रदेशभरी १० जना घाइते भएका छन् । घाइते हुनेमा ५ पुरुष र ५ महिला छन् । पाँचथर, खोटाङ र भोजपुरमा घाइतेको संख्या बढी छ । तथ्याङ्कअनुसार प्रदेशमा केही व्यक्ति बेपत्तासमेत भएका छन् । जसमा इलाममा १ जना रहेको छ ।
बाढी र पहिरोले भौतिक संरचनामा पनि ठुलो क्षति पुर्याएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका छन् ।