सल्यानमा फोर्स गाडी सडकबाट तल खस्दा ३ जना घाइते
सल्यान, २८ कात्तिक । सल्यानको बागचौर नगरपालिका–४, बाङ्गेलाखुरीस्थित राप्ती राजमार्गमा आज बिहान फोर्स गाडी सडकबाट करिब ७ मिटर तल खस्दा ३ जना घाइते भएका छन्।
नेपालगन्जबाट अर्वारे फारुलातर्फ जाँदै गरेको लु.प्र.०१–००१ख ०२४१ नम्बरको गाडीमा १४ जना यात्रु सवार थिए। गाडी चालक बाँकेको कोहलपुर उपमहानगरपालिका–१२ चप्परगौरी बस्ने २७ वर्षीय कमल बोहरा हुन्।
घाइते हुनेहरूमा सल्यान दार्मा गाउँपालिका–५ का ३३ वर्षीय बुद्विमान केसी, दार्मा गाउँपालिका–२ की करिब ६१ वर्षीया रत्न कुमारी वली र करिब ५० वर्षीया टेक कुमारी वली रहेका छन्।
प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य छ र उनीहरूको बागचौरस्थित सहज पोलिक्लिनिकमा उपचार भइरहेको छ।