पर्वत कुश्मा बसपार्क कात्तिक १४ देखि सञ्चालन हुने
पर्वत, काठमाडौँ। डेढ वर्षअघि निर्माण सम्पन्न भएको पर्वतको कुश्मा बजारस्थित बान्द्रेबिडी बसपार्क नियमित सञ्चालनको तयारीमा छ। कुश्मा नगरपालिकामा भएको सर्वपक्षीय छलफलअनुसार बसपार्क कात्तिक १४ गते शुक्रबारदेखि सञ्चालन हुने निर्णय भएको हो।
छलफलमा जनप्रतिनिधि, यातायात व्यवसायी र सरोकारवाला निकायका प्रतिनिधिहरूले शिवालयचोकमा रहेका सबै यातायात कम्पनीका टिकट काउन्टर बसपार्कमा सार्ने र बसपार्कभित्रै पार्किङ व्यवस्था मिलाउने निर्णय गरेका छन्। ट्याक्सीका लागि दुई-दुई, अन्य सवारीसाधनका लागि एक-एक यात्रु चढाउने प्रतीक्षालय शिवालयचोकमा राखिनेछ।
बसपार्क सञ्चालनका लागि कुश्मा नगरपालिकाले गत साउन २९ गते रु ११ लाख १९ हजारमा बोलपत्र आह्वान गरेको थियो। बोलपत्र युवा व्यवसायी दीपक पुनको नाममा स्वीकृत भएपछि सञ्चालन प्रक्रिया अघि बढेको हो।
बसपार्क सञ्चालनले यात्रु प्रतीक्षालय, अव्यवस्थित पार्किङ व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। नगरप्रमुख रामचन्द्र जोशीले भवनसहित टिकट काउन्टर, प्रतीक्षालय, शौचालय र व्यावसायिक प्रयोजनका लागि छवटा सटरसहितको कोठा निर्माण गरिएको जानकारी दिए।
जिल्ला ट्राफिक प्रहरी प्रमुख बलबहादुर गुरुङका अनुसार रु ६ करोड ६६ लाखको लागतमा बनेको बसपार्कले कुश्मा बजारमा अव्यवस्थित पार्किङको समस्या अन्त्य गर्नेछ।
बसपार्कबाट दैनिक काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काँकरभिट्टालगायतका सहरमा सार्वजनिक सवारीसाधन छुट्ने छन् भने बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका सवारीसाधन पनि कुश्मा हुँदै सञ्चालन हुनेछन्।