तनहुँमा माइक्रो दुर्घटना, १४ जना घाइते
दमौली, तनहुँ। आज तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा पृथ्वीराजमार्गअन्तर्गत माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाई सडकछेउको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। दुर्घटनामा माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको गाडीसँग समेत ठोक्किएको थियो।
घाइतेमध्ये लमजुङ, चितवन र नवलपुरका विभिन्न स्थानका ४२ वर्षदेखि ५ वर्षसम्म उमेरका पुरुष, महिला र बालबालिका रहेका छन्। प्रहरीले सबै घाइतेलाई आँबुखैरेनी अस्पतालमा पठाएको जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।