काठमाडौँ – कांग्रेस महाधिवेशन मङ्सिरभित्र सम्भव छैन : इन्द्रबहादुर बानियाँ
काठमाडौँ, ३० अक्टोबर – नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी मङ्सिरमा नियमित वा विशेष महाधिवेशन हुन नसक्ने स्पष्ट पारेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बानियाँले भने, “विशेष महाधिवेशनको बहस भइरहेको छ। प्रस्ताव दर्ता भएको तीन महिनाभित्र गर्ने भनिएको विशेष महाधिवेशन पनि मङ्सिरभित्र सम्भव छैन। क्रियाशील सदस्यताको प्रगति हेर्दा नियमित महाधिवेशन त झन् सम्भव छैन।”
बानियाँले महाधिवेशनबारे परिपक्व निर्णय गर्नुपर्ने जोड दिएका छन्। उनले चेतावनी दिँदै भने, “महाधिवेशन गर्ने निर्णय कार्यान्वयनको वातावरण नबनाई गर्ने हो भने नेपाली कांग्रेस अपरिपक्व पार्टी बन्छ।”
उनले पार्टीभित्र देखिएको पछिल्लो विवाद दुवै पक्षले जीतको महसुस गर्नेगरी समाधान गर्नुपर्ने बताए। बानियाँले कांग्रेसले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन तयारीमा जाने कुरामा पनि जोड दिए।